मुख्य पृष्ठ हटलाइन समाचार शिक्षा / स्वास्थ्य राजनिती खेलकुद समाज अपराध अर्थ / व्यापार अन्तराष्ट्रिय भिडियो लेख तथा रचना

काेराेना त्रास (रिपोर्ट,अाइसुलेसन र सामाजिक तिरस्कार )


२०७७, असोज १३, मंगलबार

News Title

सरोज श्रेष्ठ
म एमबिबिएस तेस्रो वर्षमा अध्यनरत विद्यार्थी । कोभिड-१९ महामारीका कारण कलेज बिदा भएपछि नेपालगञ्जबाट फर्किएर गत चैतदेखि काठमाडौंमा परिवारसॅग बस्दै आएको थिएँ । कोरोना सङ्क्रमितको सङ्ख्यासॅगै यसको डर-त्रास पनि दिन प्रतिदिन बढिरहेको थियो  l

करिब चार महिनाको लकडाउनपछि लकडाउन खुकुलो भयो । काठमाडौं प्रवेश गर्नेहरुको घुइँचो बढ्न थाल्यो । यससँगै काठमाडौंमा कोरोना सङ्क्रमितको सङ्ख्या पनि ह्वात्तै बढ्यो । केही काम परेकोले एक/दुई पटक घरबाट बाहिर निस्किएको थिएँ । एक पटक सार्वजनिक सवारीसाधन पनि प्रयोग गरेको थिएँ । 
साउन ३० गते दिउँसोबाट शरीर हल्का तात्तिएको महसुस भयो । जिउ गल्ने, टाउको भारी हुने र बेलाबेला सुख्खा खोकी लाग्ने समस्या पनि सुरु भयो । सुत्नु अगाडि एउटा पारासिटामोलको चक्की खाएर सुतें । गाह्रो भएर बिहान तीन बजे नै ब्युझिएँ । हनहनी ज्वरो आउनुका साथै टाउको पनि एकदम दुखेको थियो । उठेर थर्ममिटरले तापक्रम नाप्दा 101.5°F देखायो । एउटा पारासिटामोलको चक्की खाएपछि अलिक आनन्द भयो अनि फेरि सुतें । 

भोलिपल्टबाट ज्वरो र टाउको दुखाइ कम हुँदै गयो । कतै कोरोनाकै सङ्क्रमण भयो कि भन्ने शंका लागेर पर्सिपल्ट चेकअप गराउन पाटन अस्पताल पुगें । पिसिआर जाँचको लागि नाक र घाँटीबाट स्वाब दिएर घर फर्किएँ । जिउ गल्ने बाहेक सबै लक्षण ठिक भइसकेका थिए । औषधि (पारासिटामोल) तीन दिन मात्र खाँए । तर विस्तारै गन्ध थाहा पाउन भने छोडें  । तीन दिनपछि राति ९ बजेतिर रिपोर्ट आएको मेसेज आयो । अस्पतालको अनलाइन साइटबाट हेर्दा रिपोर्ट नेगेटिभ आएको रहेछ । खुसी हुँदै परिवार अनि साथी-भाइलाई सुनाएर ढुक्क भएर सुतें  । 
भोलिपल्ट बिहान ८ बजे पाटन अस्पतालबाट फोन आयो । मेरो नाममा दुई वटा फरक रिपोर्ट आएको कारण मैले फेरि अस्पताल गएर स्वाब दिनुपर्ने कुरा गर्नुभयो । तर त्यसै दिनबाट काठमाडौंमा निषेधाज्ञा सुरु भएको थियो । कसरी जाने भनेर सोच्दै गर्दा दिउँसो १ बजेतिर फेरि फोन आयो । पाटन अस्पतालको मोलिक्युलर बायोलोजिस्ट बोलिरहेको र अस्पतालमा यस्तो गल्ती पहिलो पटक भएको हुनाले झन्झट नमानी फेरि स्याम्पल दिन आग्रह गर्नुभयो । मैले निषेधाज्ञाको कुरा राख्दा बाटोमा कतै रोक्यो भने उहाँलाई सम्पर्क गर्नु भनेपछि मैले तुरुन्तै बाइकमा गएर स्वाब दिएर आएँ  । 

देशकै एक प्रतिष्ठित अस्पतालबाट महामारीको समयमा यस्तो गल्ती हुनु लज्जास्पद कुरा हो जस्तो लाग्छ । फोनमा कुरा हुँदा रिपोर्ट सकेसम्म एक दिनपछि नै उपलब्ध गराइदिउँला भन्नुभए तापनि तीन दिनसम्म पनि रिपोर्ट आएन । अस्पतालमा सोधपुछ गर्दा टेक्निकल समस्या भएको कारण ढिलो भएको बताउनुभयो । पाँच दिनपछि बल्ल बेलुका फोन आयो । स्वास्थ्य कार्यालयबाट रहेछ।  मेरो रिपोर्ट पोजेटिभ आएको थाहा पाएँ । म आत्तिएँ । यसरी लक्षण देखिएको एघार दिनपछि मात्र म सङ्क्रमित रहेको कुरा प्रमाणित भयो । नेपालमा कोभिडको व्यवस्थापन कति अव्यवस्थित र सुस्त छ भन्ने कुरा यसबाट पनि आकलन गर्न सकिन्छ ।
रिपोर्ट पोजेटिभ आएको कुरा परिवारलाई सुनाउँदा सबै जना आत्तिनु भयो । सबैको मुहार मलिन भयो । पोजेटिभ थाहा भएपछि डरको माहोल सिर्जना भएको कारण घरमै बस्न मन लागेन, त्यसैले आइसोलेसन सेन्टरमै जाने निधो गरें । परिवारमा सबैलाई नआत्तिन र केही दिनमा सबै सामान्य हुनेछ भनेर सम्झाएँ । वडालाई पनि खबर गरें । चाहिने सरसामान सबै तयार पारेर बेलुका सात बजेतिर एम्बुलेन्स चढेर आइसोलेसन सेन्टर पुगें ।
त्यहाँ पुगेपछि एक जना नर्सले सबै विवरण रेकर्ड गरेर कोठा तोकिदिनुभयो । सुरुमै आउनुभएको एक सङ्क्रमित दाइले मलाई कोठा देखाएर वाइफाइको पासवर्ड पनि भन्दिनु भयो । कोठाभित्र एउटा खाट, टेबल, पङ्खा, कुर्सी, बाटा, अनि बाल्टीभित्र नयाँ साबुन, सेम्पु, स्यानिटाइजर, टिस्यु पेपर, तौलिया, चप्पल, थर्मस इत्यादि राखिएका थिए । सबै सामान झिकेर मिलाएर कुर्सीमा आराम गरें ।

मनमा अनेकौं कुरा खेलिरहेका थिए । एउटा साहसिक यात्रा सुरु गरेको अनुभूति भइरहेको थियो । सम्पर्कमा आएका साथीभाइ र आफन्तजनलाई खबर गरें । सबैको डरको केन्द्रविन्दु आफू बन्दा साह्रै दु:ख लागिरहेको थियो । केही बेरपछि एक जना छिमेकी दाइको फोन आयो । बेकारमा किन पिसिआर गराएको, रिपोर्ट पक्कै पनि गलत आएको हुनसक्ने र मैले गर्दा उहाँहरु सबैललाई अप्ठेरोमा पारे भन्ने जस्ता कुराहरू गर्नुभयो । थाहा नभई सङ्क्रमण फैलाउनुभन्दा जाँच गराएर सतर्कता अपनाउनु ठिक हो र केही दिनपछि सबै सामान्य भइहाल्छ नि दाइ भनेर उहाँलाई सम्झाएँ । त्यसैगरी टोलका अरु दुई/तीन जना दाइले पनि फोन गर्नुभयो। सबैको आसय उस्तै थियो । मिडियाबाट पिसिआरप्रति भ्रम फैलिएको कारण धेरेजसोको यसप्रतिको बुझाइ गलत थियो । नतिजा सततिशत सही नहुने भएपछि यसमा विश्वास गर्न नहुने र मेरो रिपोर्ट पनि गलत आएको हुनसक्ने र मैले पिसिआर टेस्ट गरेर गल्ती गरें भन्ने आसय उहाँहरुको थियो । सबैलाई बुझाउने प्रयास गरें तर उहाँहरु बुझ्ने पक्षमा देखिनुभएन । यसरी मलाई मेरो समाजले पिसिआर जाँच गरेर गल्ती पो गरेछु भन्ने अनुभूति गरायो ।

वडाले मेरो परिवार र मसँग सम्पर्कमा आएका व्यक्तिको पिसिआर जाँच एक हप्ता क्वारन्टाइनमा बसेपछि गराउने भन्नुभएको थियो । तर सोही छिमेकी दाइ जसले पिसिआर गर्नु नै गलत र रिपोर्टमा भर पर्न नहुने कुरा गर्नुभएको थियो, उहाँकै कचकच र प्रेसरले गर्दा एक हप्ता पुग्नु अगावै प्राइभेटमा ममीको पिसिआर गराउन बाध्य भएँ । भोलिपल्ट ममीको पिसिआर रिपोर्ट नेगेटिभ आयो । खुसीको सीमा रहेन ।
दुई वर्षदेखि गठिया बाथका कारण ममीले लगातार औषधि खानु भइरहेको थियो । त्यसै कारण पनि ममीलाई सङ्क्रमण भइहाल्यो भने केही नराम्रो असर गर्ला की भनेर मन पिरोलिइरहेको थियो। नेगेटिभको खबरले आधा भन्दा बढी तनाव त्यसै ठिक भयो। हप्ता दिन पुगेपछि वडाले बाँकी सबैको पिसिआर गरायो। पाँच दिनपछि सबैको रिपोर्ट नेगेटिभ आएको थाहा पाउँदा झन् खुसी थपियो। मेरा डर, पिर, चिन्ता, तनाव सबै सकिएको महसुस भयो ।
मसँगै आइसोलेसन सेन्टरमा छेउको कोठामा बसिराख्नुभएका दुई जना दाइको श्रीमती र बच्चाको रिपोर्ट पनि नेगेटिभ आएको थाहा पाएर खुसी हुनुभयो । उहाँहरु खुसी त हुनुहुन्थ्यो तर सँगै बस्ने श्रीमती र साथमा खेल्ने बच्चाको रिपोर्ट नेगेटिभ आउँदा आश्चर्यचकित हुनुहुन्थ्यो । आफ्नै रिपोर्ट पो गलत आएको हो कि भन्ने प्रश्न पनि उहाँहरुको थियो।
लक्षण नदेखिएका संक्रमितबाट संक्रमण फैलिने सम्भावना कम हुन सक्ने हुँदा त्यस्तो भएको हुनसक्ने भनेर उहाँहरुलाई बुझाएँ । मिडियामा केही व्यक्तिहरुले भ्रम फैलाउने गरी मास्क लगाउँदा स्वास्थ्यलाई असर गर्छ, स्यानिटाइजरले हात खराब गर्छ, पिसिआरको विश्वसनीयता छैन भन्ने जस्ता कुरा व्याप्त रुपमा फैलिसकेको थियो । त्यहाँका धेरै जनाले मलाई यी कुराको विषयमा पनि सोध्नुहुन्थ्यो। आफूले बुझेजति र सकेजति बुझाउने प्रयास गर्थें अनि यस्ता भ्रमको पछि नलाग्न पनि आग्रह गर्थें । 
आइसोलेसन सेन्टरमा दिनदिनै संक्रमितहरु थपिँदै थिए । सबैसँग अनुभव साटासाट हुन्थ्यो। एक जना दिदीले आफू भौतिक सम्पर्कमा नै नआएको माइतीमा समेत उहाँको रिपोर्ट पोजेटिभ आएकै कारण माइतीलाई समेत दुर्व्यवहार र घरमा विरोध गर्न आएको कुरा सुनाउँदा मन सिरिङ्ग अनि साह्रै नै खिन्न भयो। आफ्नो समाजप्रति घृणा जागेर आयो।
धेरै जना परिवार पूरै संक्रमित भएर त्यहाँ आउनु भएकाहरु हुनुहुन्थ्यो । त्यहाँ संक्रमित प्रहरीको संख्या पनि धेरै थियो। प्रहरी दाइहरुसँग कुरा बुझ्दा संक्रमितको सम्पर्कमा आएका र संकास्पद प्रहरीहरुको पिसिआरको लागि स्याम्पल लिएपछि रिपोर्ट नआउन्जेल क्वारन्टाइनमा नराखी फेरि काममा खटाउने व्यवस्था रहेछ। धेरै जनाले काममा खटिएकै बेला रिपोर्ट पोजेटिभ आएपछि बल्ल पोसाक परिवर्तन गरी एम्बुलेन्स चढेर सिधै त्यस आइसोलेसन सेन्टरमा आउनुपरेको कुरा बताउनुभयो। यस्तो कमजोर व्यवस्थापनका कारण बाँकी प्रहरीमा त संक्रमण अवश्य फैलिने भइहाल्यो । यसका साथै सुरक्षा दिन खटिएका प्रहरीहरुबाटै समुदायमा समेत संक्रमण फैलिने जोखिम उच्च रहेको देखिन्छ ।
दिनहरु बित्दै गए। त्यहीँको वातावरणमा रमाउन थालें। बिहान सात बजे उठ्थें। नास्तामा चिया, अन्डा, पाउरोटी अथवा बिस्कुट हुन्थ्यो। खाइसकेर घाम ताप्न कौसीमा जान्थें । कौसीबाट एकातिर काठमाडौं सहरको दृश्य अनि अर्कातिर हरियालीले छपक्कै ढाकेको नागार्जुन जङ्गलको मनोरम दृश्य हेर्न पाउँदा मन प्रफुल्लित हुन्थ्यो। दृश्य हेर्दै टोलाउँदै रमाउँदै आधा घन्टा कसरत गरेर कोठामा जान्थें । ताजा दिमागको सदुपयोग गर्दै साथमा लगेका केही किताबहरु पढ्थें।
दस बजे खानामा सादा दाल, भात र तरकारी (प्राय: लौका, घिरौंला, करेला) र अचार हुन्थ्यो । ती सबै पहिला मिठो नलाग्ने तरकारी थिए। तर त्यहाँ के मिठो के नमिठो सबै कुरालाई हेर्ने दृष्टिकोण नै आफूमा फरक भइरहेको पाएँ । दिउँसोको समयमा आफूले लगेको फलफूल जुस र अन्य खानेकुरा मिलाएर खान्थें। तीन बजेको खाजामा अन्डा चिउरा/चाउमिन/रोटी/तरकारी आदि हुन्थ्यो। खाएपछि एकछिन कौसीमा हिँडडुल गर्थें अनि मन लागेमा केहीबेर पुस्तकहरु पढ्थें । मिल्ने साथीहरुसँग लगातार कुरा भइराख्थ्यो । फुर्सदको समयमा अनलाइन लुडो पनि खुब खेलिन्थ्यो। राति आठ बजे खाना खाएपछि फेरि कौसीमा गएर हिँड्दै आकासमा ताराहरु हेर्दै रमाउँथे । कौसीमा बिताएका पलहरु मेरा लागि खास बन्न पुगे। कोठामा फर्किएर लगभग बाह्र बजेतिर सुत्थें  ।
त्यसै आइसोलेसन सेन्टरमा बसिरहनुभएका एक जना दाइले कोभिडका कारण तीन दिन अन्तरालमा आफ्नो बुबा र भिनाजु गुमाउनुपर्‍यो । उहाँसँगै बसिरहेकी दम रोगी कोरोना संक्रमित आमालाई बुबाको मृत्युको खबर सुनाउने हिम्मत उहाँमा थिएन। तनावका कारण विक्षिप्त भई तलमाथि गर्दै अनि कौसीमा भौँतारिदै हिँड्नुहुन्थ्यो । भेटेका सबैसँग हाँसीहाँसी बोलचाल गरेर तनाव कम गर्ने प्रयास गर्नुहुन्थ्यो। जीवनभर भुल्न नसक्ने गरी लागेको चोट भए तापनि आफूले सकेजति उहाँलाई सम्झाइबुझाइ गर्थें । 
केही दिनपछि अर्को एक जना दाइको तीन जना परिवारको डिस्चार्ज हुने मिति पुग्न लागेको थियो। मिति पुग्नु एक दिनअघि नै घरबेटीले फोन गरेर डिस्चार्ज भएपछि एक हप्ता घर नआउन आदेश दिएका रहेछन् । त्यहाँको नर्सलाई यो कुरा राखेपछि घरबेटीलाई सम्झाउन खोज्दा कुरा झन् बिग्रियो । त्यसपछि घरबेटीले पुन: फोन गरेर नानाथरी गालीका साथै आफ्नो घर आफ्नो मर्जी हुने र फेरि पनि अरुलाई फोन गर्न लगाएर धम्क्याएमा घरबाट निकाल्दिने चेतावनी दिएछन्छ। आश्चर्यको कुरा त त्यस घरबेटी आफैं पनि कोरोना संक्रमित थिए र उनको छोरा समेत त्यही सेन्टरबाट केही दिन अगाडि डिस्चार्ज भएर घर गएका थिए । आफू स्वयं संक्रमित भएर अर्को संङ्क्रमितको मर्म बुझ्न त परै जाओस्, त्यसमा घाउ थप्ने घरबेटी देखेर हाम्रो मानवता हराएको समाजलाई धिक्कार्न मन लाग्छ ।
लक्षण नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखी पिसिआर नगराई घर पठाउने र घरमा एक हप्ता क्वारेन्टाइन बस्न सुझाव दिने गरी सरकारले नयाँ प्रोटोकल लागू गरेको थियो । डिस्चार्ज भएर घर फर्किएपछि पाटन अस्पताल गएर फेरि पिसिआर गराएँ। तीन दिनपछि रिपोर्ट नेगेटिभ भनेर थाहा पाउँदा बल्ल पूर्ण रुपमा ढुक्क भएको महसुस गरें। कोभिडका कारण भोग्नुपरेका सबै सास्ती र केही नमिठा अनुभवहरु याद गर्दै केही बेर मुस्कुराएर बसें ।
प्लाज्मा दान रिपोर्ट नेगेटिभ आएको १४ दिनपछि अथवा संक्रमण भएको २८ दिन पुगेपछि मात्र गर्न मिल्छ। आफू योग्य भएपछि प्लाज्मा बैंक नेपाललाई म प्लाज्मा दान गर्न इच्छुक छु भनेर खबर गरें । केहीबेरमा नै एक जना डाक्टरले फोन गरेर उहाँको बुबा कोभिडको कारण सिकिस्त भई आइसियुमा उपचार गराइराख्नु भएको र अवस्था झन् बिग्रिँदै गएको कुरा सुनाउनुभयो। शनिबार परेको कारण त्रिवि शिक्षण अस्पतालमा नमिल्ने भएपछि ग्राण्डी अस्पतालमा आउन आग्रह गर्नुभयो। त्यहाँ कार्यरत नेपालको एक मात्र ट्रान्सफ्युजन मेडिसिन विशेषज्ञ डा विपिन नेपाललाई भेट्न पाउँदा खुसी लाग्यो । उहाँले सबै रिपोर्ट हेरेर फारम भरिसकेपछि रक्तदान गरी घर फर्किएँ ।
चाहिने सबै टेस्ट गरेर प्लाज्मा छुट्याइएपछि राति ९ बजे उक्त बिरामीलाई प्लाज्मा चढाइएको रहेछ। बिरामीको अवस्थामा अहिले उल्लेखनीय सुधार आएको खबरले म निकै हर्षित छु । कोरोना संक्रमित भई त्यसलाई जितेर अर्को एक सिकिस्त संक्रमितलाई प्लाज्मा दान गरी बचाउनु झन् ठूलो जित हो। कोरोनालाई जितेर प्लाज्मा दान गर्न योग्य भएका सबैलाई प्लाज्मा दान गरी असल नागरिकको पहिचान दिन आग्रह गर्दछु ।
यस महामारीले हरेकलाई भिन्नाभिन्नै अनुभव दिएको छ। लक्षण नदेखिएका संक्रमितलाई यो रोग नै होइन भन्ने लाग्ला। सामान्य लक्षण देखिएकालाई यो सामान्य रोग लाग्ला। धेरैलाई चालै नपाई ठिक भइसकेको पनि होला। संक्रमणका कारण सिकिस्त भएकाहरुको अकल्पनीय अनुभव रहने छ। परिवारका सदस्य गुमाएकाहरुलाई यो अभिसाप ठहरिएको छ । डर, त्रास र भ्रमका कारण अनेकौं घिनलाग्दा घटनाका साथै सामाजिक विभेद र कुरीति स्थापित भएको छ।
अधिकांशलाई कोभिड-१९ १४ दिनभित्र निको त होला तर हाम्रो समाजका कारण खेप्नुपरेका सास्ती र दुर्व्यवहार भने जीवनभर भुल्न सकिँदैन । भ्रामक कुराको पछि नलागी आफैं सत्यतथ्य जान्ने प्रयास गरी यस्ता सामाजिक विकृतिको अन्त्य गरौं। मास्क, साबुन, स्यानिटाइजरको सही प्रयोग गर्दै भौतिक दूरी कायम गर्नुका साथै सामाजिक सद्भाव र मेलमिलाप कायम गरी मानवता उजागर गरौं ।
 

ताजा समाचार


अन्तर प्रदेश राष्ट्रिय खेलकुदमा वागमती पहिलो

मकवानपुर । प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा १ सय ४० पदकसहित वाग्मती प्रदेश पहिलो भएको छ । विभागीय टोली सहभागी नभएको यस प्रतियोगिताको समापन आइतबार भएको हो । वागमती पहिलो स्थानमा रहँदा सुदूरपश्चिम दोस्रो, कोशी तेस्रो, गण्डकी चौथो, लुम्बिनी पाँचौं, कर्णाली छैटौं र मधेश प्रदेश सातौं स्थानमा रहे । 

वागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा चैत २५ बाट सञ्चालन भएको प्रतियोगितामा पुरुष फुटबलबाहेकको सबै खेल छिमेकी जिल्ला चितवनको भरतपुरमा सञ्चालन भएको थियो ।

हेटौंडा–६ स्थित गौरीटारमा भएको पुरुष फुटबलको फाइनलमा आइतबार कोशी प्रदेशले स्वर्ण पदक जित्न सफल भयो । कोशीले वागमतीलाई १–० गोलअन्तरले पराजित गर्‍यो । कोशीका लागि एक मात्र निर्णायक गोल निखिल तामाङले खेलको दोस्रो हाफमा फ्रिकिकमार्फत गरे ।

प्रतियोगितामा ६१ स्वर्णसहित ४२ रजत र ३६ कांस्य गरी १ सय ३९ पदक जित्दै प्रथम स्थान हाासिल गरेको वागमतीलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ट्रफी प्रदान गरेका थिए । उनले प्रतियोगितालाई आगामी संस्करणबाट थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउँदै लैजाने प्रतिबद्धतासमेत जनाए । वागमतीले महिला भलिबलसहित बक्सिङ र करातेमा ९/९, तेक्वान्दो र एथलेटिक्समा ७/७, पौडीमा २७ र ब्याडमिन्टनमा एउटा स्वर्ण पदक जितेको हो ।

सुदूरपश्चिम २१ स्वर्ण, २१ रजत र २९ कांस्य गरी कुल ७१ पदकसहित दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको कोशी प्रदेशले १६ स्वर्ण २३ रजत र ३६ कांस्य गरी ७५ पदक जितेको छ । गण्डकी प्रदेशले ११ स्वर्ण, १८ रजत र २० कांस्य गरी जम्मा ४९ पदक जितेको छ । लुम्बिनीले ११ स्वर्ण, १६ रजत र २८ कांस्य गरी ५५ पदक जित्यो भने कर्णाली प्रदेशले ११ स्वर्ण, १० रजत र २४ कांस्य गरी ४५ पदक जितेको हो । अंक तालिकाको पुछारमा रहेको मधेश प्रदेशले कुल ३ स्वर्ण, ३ रजत र १५ कांस्य गरी २१ पदक जितेको छ ।

प्रतियोगितामा विभिन्न खेलको लागि ७ वटा प्रदेशका १ हजार ७ सय ८५ जना खेलाडी, प्रशिक्षक, प्राविधिक टिम, निर्णायक र खेलाडी गरी २ हजार ७ सय ३० जनाले सहभागिता जनाएका थिए ।



पुरा हेर्नुहोस्

अन्तर प्रदेश राष्ट्रिय खेलकुद आइतबार देखि सुरुहुने

काठमाडौं । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको संयुक्त आयोजनामा प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद आइतबारदेखि हुने भएको छ ।

प्रदेश खेलकुद विकास परिषद्, बागमतीका सदस्य–सचिव सूर्यलाल भण्डारीले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए ।

प्रतियोगिताको उद्घाटन चितवनको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आइतबार हुनेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, फुटबल, कराते, तेक्वान्दो, बक्सिङ, पौडी, ब्याडमिन्टन र क्रिकेट गरी ९ खेलको प्रतिस्पर्धा हुनेछ । पुरुष फुटबल बाहेक सबै खेल चितवनमा हुनेछ । पुरुष फुटबल हेटौँडास्थित गौरीटार रंगशालामा हुनेछ ।

प्रतियोगितामा १ सय ३६ स्वर्ण, १ सय ३६ रजत र १ सय ८४ कांस्यका लागि प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा सातै प्रदेशका १ हजार ५ सय ४७ खेलाडी सहभागी हुने बताइएको छ ।

शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५ हजार, ४ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । हरेक खेलका उत्कृष्ट खेलाडीलाई १० हजार नगदबाट पुरस्कृत गरिने छ। टिम च्याम्पियनलाई चाँदीको रनिङ शिल्ड प्रदान गरिने छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब १२ करोड खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिताको समापन बैशाख १ गते गौरीटार रंगशालामा हुनेछ ।



पुरा हेर्नुहोस्

सुष्मा र दीपक सर्वोत्कृष्ट खेलाडी

काठमाडौं । नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६० औं वार्षिकोत्सवमा बुधबार सुष्मा र दीपकसहित १८ जना बुधबार सम्मानित भएका छन् ।

भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा राखेपले विभिन्न ६ विधामा १८ जनालाई सम्मान गरेको हो । ५ खेलाडी (१ पारासहित), समान १–१ प्रायोजक, स्थानिय तह र राष्ट्रिय खेल संघ, २ खेल पत्रकार तथा ८ कर्मचारी (२ करारसहित) लाई सम्मान गरिएको‌ छ।

सिनियरको पुरुषमा एथलेटिक्सका दीपक र बक्सिङकी सुष्माले ट्रफीसहित समान १ लाख रुपैयाँ प्राप्त गरे ।
गत वर्ष नवौं राष्ट्रिय खेलकुदको १० हजार किलोमिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका दीपक नेपालमै भएको १६ औं एसियाली क्रसकन्ट्री एथलेटिक्सका दोहोरो स्वर्ण विजेता हुन् ।

दीपकले दोश्रो राइट टु प्रोटिन हाफ म्याराथन, प्रधानसेनापति कप र लुम्बिनी हाफ म्याराथनमा स्वर्ण तथा कान्तिपुर हाफ म्याराथनमा रजत जितेका थिए

सुष्माले थाइल्यान्डको बैंककमा भएको एएसबीसी यु–२२ एसियाली महिला बक्सिङ च्याम्पियनसिपमा रजत जित्दै इतिहास रचेकी थिइन् । नेपाली बक्सिङ खेलाडीले कुनैपनि एसियाली स्तरको बक्सिङमा रजत जितेको अहिलेसम्मकै पहिलो हो । सुष्माले नवौं राष्ट्रिय खेलकुदको ४८ केजीमा पनि स्वर्ण जितेकी थिइन् ।

जुनियरको पुरुषमा क्रिकेटका अर्जुन कुमाल र महिलामा पौडीकी डुवाना लामाले सर्वोत्कृष्ट खेलाडीको अवार्ड हात पारे । दुवैलाई जनही ५० हजार रुपैयाँ र ट्रफी प्रदान गरियो ।

नेपाललाई आईसीसी यु–१९ विश्वकपमा छनोट गराउन भूमिका खेल्ने एक मुख्य खेलाडी अर्जुन यु–१९ मा दुई शतक प्रहार गर्ने खेलाडी हुन् । डुवानाले नवौं राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्दै ९ स्वर्ण र १ रजत जितेकी थिइन् ।

पारा एथलिट खेलाडीको अवार्ड पौडीका भीमबहादुर कुमालले जिते । गत वर्ष भएको सुरेन्द्र स्मृति पारा पौडी प्रतियोगिताको ५० मिटर फ्रि स्टायलमा भीमले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका थिए ।

खेल क्षेत्रमा उत्कृष्ट कार्य गरेवापत नवलपरासीको मध्यविन्दु नगरपालिकालाई उत्कृष्ट स्थानिय तह तथा नेपाल भलिबल संघलाई उत्कृष्ट राष्ट्रिय खेल संघका रुपमा पुरस्कृत गरियो । मध्यविन्दुका मेयर भिमलाल अधिकारी तथा भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले अवार्ड ग्रहण गरे ।

कर्मचारीको प्रशासनिकतर्फ नायब वरिष्ठ प्रशासकिय अधिकृत भोजानन्द राईले सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कार, नायब वरिष्ठ प्रशासकिय अधिकृत सुनिलकुमार दाहालले उत्कृष्ट परिषद् सेवा पुरस्कार र नायब वरिष्ठ प्रशासकिय अधिकृत शारदा दाहालले परिषद् सेवा पुरस्कार प्राप्त गरे । प्रशिक्षणतर्फ नायब वरिष्ठ कुस्ती प्रशिक्षक मुम्ताज अली इद्रिसी सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कार, क्रिकेट प्रशिक्षक मन्जुर आलम खान उत्कृष्ट परिषद् सेवा पुरस्कार र भलिबल प्रशिक्षक उमादेवी गुरुङ परिषद् सेवा पुरस्कारबाट पुरस्कृत भए । सर्वोत्कृष्ट, उत्कृष्ट र परिषद् सेवा पुरस्कारबाट पुरस्कृत हुनेले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगदसहित पुरस्कारसहित ट्रफी पाए ।

कर्मचारीतर्फ नै इन्जिनियर सविन महर्जन तथा सहायक बक्सिङ प्रशिक्षक राज श्रेष्ठले करार सेवा पुरस्कार प्राप्त गरे । दुवैलाई जनही १० हजार नगदसहित ट्रफी प्रदान गरियो । खेल पत्रकार सम्मानबाट नेपाल टेलिभिजनका दुर्गानाथ सुवेदी (देवेन्द्र) र कान्तिपुर टेलिभिजनकी सविना कार्की सम्मानित भए । दुवैले ट्रफीसहित जनही २० हजार रुपैयाँ पाए ।

उनीहरुलाई राखेपका संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय योगजना आयोगका सदस्य डा. उमाशंकर प्रसाद, राखेपका उपाध्यक्ष शिव कोइराला र राखेपका सदस्य–सचिव टंकलाल घिसिङले कार्यक्रमबीच पुरस्कृत गरे । कार्यक्रममा वरिष्ठ हांस्य कलाकार, लोकप्रिय गायक राजेशपायल राईलगायतले प्रस्तुती दिएका थिए ।



पुरा हेर्नुहोस्


२ पूर्वसचिवसहित १३१ दोषी ठहर, ३ पूर्वमन्त्री र १ पूर्वसचिवलाई सफाइ

काठमाडौँ । ललिता निवास परिसरको करिब २ सय ८४ रोपनी जग्गा कानुनसम्मत मुआब्जा दिएर २०२१ सालमा अधिग्रहण भएकामा त्यसको करिब ३० वर्षपछि योजनाबद्ध रूपमा व्यक्तिका नाममा फर्काइएको थियो । २०५० देखि हिनामिना गरिएको जग्गा ३० वर्षपछि फेरि सरकारका नाममा ल्याउने गरी विशेष अदालतले फैसला गरेकाेछ ।

ललिता निवास जग्गा प्रकरणमा १३१ जना दोषी ठहर हुनेगरी विशेष अदालतले गरेको फैसलाको मुख्य सन्देश के हो ?

९३ वर्षअघि विसं १९८७ मा तत्कालीन राजा त्रिभुवनसँग मागेर प्रधानमन्त्री भीमशमशेरले हालको बालुवाटार क्षेत्रको २ सय ९९ रोपनी जग्गा आफ्नो नाममा पाएका थिए । ‘देवाली’, ‘सानु’, ‘तलेजु’ र ‘इन्द्रजात्रा’ गुठीका नाममा रहेको र केही किसानले जोतभोग गर्दै आएको यो जग्गा भीमशमशेरले पाएपछि उनले पर्खाल लगाएर घेरेका थिए । पर्खालमा लेखाइएको थियो– ललितादेवी । ललितादेवी राणाहरूकी कुलदेवीका नाममा पुजिन्थिन् । कुलका नाममा आएको जग्गा भीमशमशेरबाट छोरा हिरण्यशमशेर र उनका पनि छोरा सुवर्णशमशेरका नाममा सरेको थियो । २०१६ पुस १ मा ‘बिर्ता उन्मूलन ऐन’ जारी भएसँगै जग्गा प्राप्ति ऐनअनुसार तत्कालीन भोगाधिकारी सुवर्णशमशेरको परिवारबाट १४ रोपनी ११ आना जफत गरिएको थियो भने दुई सय ८४ रोपनी जग्गा अधिग्रहण गरेको थियो । अधिग्रहण गर्दा सरकारले सुवर्ण परिवारलाई १६ लाख रुपैयाँभन्दा बढी मुआब्जा दिएको थियो । सरकारले प्राप्त गरेको जग्गा गृह मन्त्रालयअन्तर्गतको समरजंग कम्पनीका नाममा राखिएको थियो ।

पञ्यायतकालमा राजकाज मुद्दा लगाएर जफत गरिएका जग्गा फिर्ता गर्न भनेर ०४७ मा मन्त्रिपरिषद्ले गरेको निर्णयलाई अपव्याख्या गरेर मुआब्जा तिरेर अधिग्रहण गरिएका हदबन्दीभन्दा माथिका जग्गा पनि फिर्ता गर्ने योजना सफल पारिएको थियो ।

सरकारी अधिकारी र भूमाफियाको मिलेमतोमा हिनामिना गरिएको ललिता निवास परिसरको यो जग्गा अब भने सरकारका नाममा फिर्ता हुने भएको छ । यो प्रकरणमा अख्तियारले दायर गरेको मुद्दामा बिहीबार फैसला दिँदै विशेष अदालतले नेपाल सरकारका २ पूर्वसचिव र तत्कालीन भोगाधिकारी राणा परिवारका ५ सदस्यसहित १३१ जनालाई दोषी ठहर गरेको छ । सरकारका नाममा भएको जग्गा सुनियोजित रूपमा हडपिएकामा ती सबै प्रक्रिया खारेज गर्दै अदालतले दोषीलाई बिगो, कैद र जरिवाना तथा हिनामिना भएको जग्गा जफत गरेर सरकारकै नाममा ल्याउने गरी फैसला सुनाएको हो ।

विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले पूर्वभूमिसुधार सचिव छविराज पन्त र पूर्वभौतिक योजना सचिव दीपबहादुर बस्न्यात तथा ललिता निवासका तत्कालीन भोगाधिकारीहरू सुनीति राणा, शैलजा राणा, हेमनशमशेर, हाटकशमशेर र रुक्मशमशेरसहितलाई दोषी ठहर गर्दै बिगोबमोजिम जरिवाना र कैद सजाय हुने गरी फैसला सुनाएको हो । विशेष अदालतका प्रवक्ता एवं उपरजिस्ट्रार धनबहादुर कार्कीले विभिन्न निर्णय प्रक्रियामा सामेल २ पूर्वसचिवसहित तत्कालीन भोगाधिकारी, नक्कली मोही, जग्गा हिनामिनामा संलग्न कर्मचारी र मतियारका रूपमा काम गर्नेसहितलाई दोषी ठहर र हिनामिना भएको १ सय ३६ रोपनी जग्गा पनि जफत हुने फैसला भएको बताए ।

जग्गा किनबेचमा संलग्न भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ तथा भूमाफिया किटान गरिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदीलाई जग्गा हिनामिना प्रकरणको मुख्य मतियारका रूपमा अदालतले दोषी ठहर गरेको छ । जग्गा हिनामिनासम्बन्धी मन्त्रालयबाट फाइल सदर गरेर मन्त्रिपरिषद्मा पेस गर्ने ३ जना तत्कालीन मन्त्री र १ सचिवसहित केही हाइप्रोफाइलले भने कसुरबाट सफाइ पाएका छन् । पूर्वउपप्रधान तथा भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, पूर्वभूमिसुधारमन्त्रीद्वय चन्द्रदेव जोशी र डम्बरबहादुर श्रेष्ठ तथा पूर्वभूमिसुधार सचिव दिनेशहरि अधिकारीलाई विशेषले कसुरबाट सफाइ दिएको हो ।

विसं २०४९ देखि २०६९ को अवधिमा गुठी संस्थान, मालपोत, नापी, भूमिसुधार विभाग र मन्त्रालयबाट गैरकानुनी निर्णय गराएर ललिता निवास परिसरको १ सय ३६ रोपनीभन्दा बढी जग्गा हिनामिना गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ मा १ सय १० जनाविरुद्ध बिगो, कैद र जरिवाना तथा ६५ जनाविरुद्ध जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो । पछिल्लो पटक लगातार २२ दिनसम्म मुद्दालाई नियमित सुनुवाइमा राखेर अदालतले बिहीबार किनारा लगाएको प्रवक्ता कार्कीले बताए ।

विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीले विशेषको फैसलाले राजनीतिक व्यक्तिलाई सफाइ दिए पनि यो फैसला समग्रमा साहसिक र ऐतिहासिक नै रहेको टिप्पणी गरे । ‘सरकारी जग्गा पद र शक्ति तथा प्रलोभनमा खाने/मास्ने काम जुनसुकै बेला भए पनि त्यस्तो अपराधमा संलग्नले एक दिन कानुनको कठघरामा आउनैपर्छ भन्ने सन्देश यसले दिएको छ,’ कार्कीले भने । हाल अख्तियार प्रमुख रहेका प्रेमकुमार राई गृह सचिव भएका बेला पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो । समितिले दिएको प्रतिवेदनका अनुसन्धानका लागि सरकारले अख्तियार र प्रहरीमा पठाएको थियो । त्यसका लागि अधिवक्ता युवराज कोइरालाले थुप्रै तथ्य र प्रमाण सरकारलाई दिनुका साथै जग्गा हिनामिनामाथि अनुसन्धानका लागि डेढ दशकदेखि सक्रियता देखाएका थिए ।

२०४६ पछि बनेको मन्त्रिपरिषद्ले पञ्चायतकालमा जफत जग्गा छानबिन गरी फिर्ता गर्ने निर्णय गरेको थियो । तर, यही निर्णयको गलत व्याख्या गरेर मुआब्जा दिएर अधिग्रहण गरिएका जग्गा पनि फिर्ता गराउने प्रपञ्च रचिएको थियो । सुवर्णशमशेरको परिवारबाट २ सय ८४ रोपनी १४ आना ३ पैसा जग्गा तत्कालीन सरकारले उचित मुआब्जा दिएर कानुनसम्मत अधिग्रहण गरेको ठहर पनि विशेष अदालतले गरेको छ ।

२०२१ मंसिर १५ मा ललिता निवासको जग्गा अधिग्रहण गर्ने निर्णय भएको र १७ मा यो विषय राजपत्रमा प्रकाशित भएकाले यसलाई अन्यथा भन्न नमिल्ने अदालतको टिप्पणी छ । ‘सुवर्णशमशेर र उनका छोरा कञ्चनशमशेरका नाममा रहेको १४ रोपनी ११ आना जग्गा मात्रै जफत भएको हो, २ सय ८४ रोपनी जग्गा कानुनसम्मत अधिग्रहण भएको ठहर्छ’ अदालतले भनेको छ । सरकारी निर्णयको अपव्याख्या गरेर अधिग्रहण भएको जग्गालाई पनि जफतकै सूचीमा राखेर हडपिएको फैसलामा उल्लेख छ ।

२०६६/६७ मा प्रधानमन्त्री कार्यालय विस्तारका नाममा नक्कली मोही र जग्गा धनीलाई ललिता निवासको जग्गा सट्टाभर्नाबापत दिने प्रस्ताव मन्त्रिपरिषद्मा लगेर अनुमोदन गराइएको थियो । मन्त्रीहरू गच्छदार, श्रेष्ठ, जोशीले लगेको प्रस्तावका आधारमा ललिता निवासको करिब ५ रोपनी जग्गा पशुपति टिकिन्छा गुठीका नाममा कायम गरेर नक्कली मोहीमा जाने गरी निर्णय भएका थिए ।

तलबाट आएका प्रस्तावलाई मन्त्रिपरिषद्सम्म पुर्‍याउने काम गरेको भन्दै सचिव अधिकारीलाई सफाइ दिइएको छ । मन्त्रिपरिषद्को निर्णय नीतिगत भएको र नीतिगत निर्णयमा अख्तियारको क्षेत्राधिकार नरहने भन्ने अभियोगपत्रमै उल्लेख भएका लगायत कारण देखाएर गच्छदार, श्रेष्ठ र जोशीलाई सफाइ दिइएको हो । २०४९ र २०६२ मा जग्गा राणा परिवारका नाममा लैजान भएको निर्णयमा डिल्लीबजार मालपोतका तत्कालीन प्रमुखद्वय कलाधर देउजा र टीकाराम घिमिरेसहित १८ लाई अदालतले दोषी ठहर गरेको छ । सरकारी जग्गामा गलत दावीसहित राणा परिवारका ५ जना सदस्यहरू सुनीति राणा, शैलजा राणा, हेमनशमशेर, हाटकशमशेर र रुक्मशमशेर राणा तथा मालपोत र भूमिसुधारका कर्मचारीहरू कलाधर देउजासहित ५ कर्मचारी तथा भूमाफिया रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई दोषी ठहर गर्दै जनही ७५ लाख रुपैयाँ जरिवाना र २ वर्ष कैद सजाय सुनाइएको छ । मालपोतबाट छुट दर्ताका नाममा थप १२ आना ०६२ मा राणा परिवारका नाममा गएको थियो । यसमा प्रमुख मालपोत अधिकृत टीकाराम घिमिरेसहित ५ कर्मचारी र सुनीतिलाई ६ महिना कैद र जनही ७ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।

नक्कली जग्गाधनी र नक्कली मोहीलाई सट्टाभर्ना दिने गरी गैरकानुनी रूपमा मन्त्रालय र मालपोतबाट भएका निर्णय प्रक्रियामा सामेल तत्कालीन सचिवद्वय बस्न्यात र पन्तसहित १२ जना दोषी ठहर भएका छन् । दुई सचिवसहित १२ कर्मचारी र व्यापारी मीनबहादुर गुरुङलाई जनही ८० लाख ४८ हजार रुपैयाँ जरिवाना र २ वर्ष कैद, जग्गा जफतको फैसला सुनाइएको छ । सट्टाभर्नामा नक्कली मोही दाबी गर्ने श्रीकृष्ण महर्जनसहित १२ जनालाई पनि दोषी ठहर गरी २ वर्ष कैद र बिगोबमोजिम जरिवानाको फैसला भएको छ ।

५७ जनालाई नक्कली मोही बनी जग्गामा हकदाबी गरेकाले कसुरदार ठहर गरिएको छ । उनीहरूलाई जनही २ वर्ष कैद र जरिवानाको फैसला भएको छ । घूसबापत जग्गा बकस लिएका १५ जनालाई पनि २ वर्ष कैद र जरिवानाको फैसला भएको छ ।

टिकिन्छा गुठीमा लगेर नक्कली मोही कायम गर्ने तत्कालीन गुठी प्रशासक बलिरामप्रसाद साह तेलीसहित १७ जनाविरुद्ध १ वर्ष कैद र जनही ४१ लाख ६७ हजार ५ सय २९ जरिवानाको फैसला भएको छ । गुठीमा जग्गा लगेर भूमाफियाका नाममा कायम गराएको अभियोगमा तेलीसहित हरिबोल आचार्य, रामेश्वर बिडारी, सेवन्तराज चापागाईं, हेमराज सुवेदी, तेजराज पाण्डे, तुल्सी पोखरेल, हरिप्रसाद जोशी, दिलीपकुमार भट्ट, नवराज पौडेल, जयप्रसाद रेग्मी, शैलेन्द्र पौडेल, फणीन्द्रप्रसाद दाहाल, मणिकुमार राना, बद्रीबहादुर कार्की, लक्ष्मीनारायण उप्रेती र दिनेशप्रसाद शर्मा दोषी ठहर भएका हुन् । त्यसैगरी प्रधानमन्त्री निवास विस्तारका नाममा भएका निर्णयमा पनि कर्मचारीहरू दोषी ठहर भएका छन् । यसमा मालपोत कार्यालयबाट निर्णय गर्दा नै जग्गा सट्टाभर्नास्वरूप जग्गा धनी र मोहीको नाम नामसारी दाखिला खारेज प्रक्रिया सम्पन्न गरेर मन्त्रालयमा पेस गरिएको र मन्त्रालयबाट यसमा थप नाम हेरफेर गर्ने काम सचिवले गरेको भन्दै निर्णय प्रक्रियामा कर्मचारीका कारण जग्गा व्यक्तिका नाममा पुगेको फैसलामा उल्लेख छ ।

पुरा हेर्नुहोस्


रामेछापका पाण्डेद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको सफल आरोहण

१५ कात्तिक, काठमाडौं । रामेछाप निवासी युवा पर्वतारोही प्रकाशराज पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो सफल आरोहण गरेका छन्। यही अक्टुबर ३१ तारिखका दिन बिहान ६स्ः४० बजे उनले तान्जेनियाको किलिमाञ्जारो हिमाल आरोहण‍ गरेका हुन्। पाण्डेले किलिमञ्जारोमा नेपालको राष्ट्रिय झण्डासमेत फहराएका छन् । उक्त हिमाल पाँच हजार ८ सय ९५ मिटर अग्लो छ। पर्वतारोही पाण्डेले आधार शिविरबाट तीन दिनमा आरोहण पूरा गरेको रामेछाप न्युजलाइ बताए ।

पाण्डेले सातै महादेशका उच्च हिमाल आरोहण गरी सेभेन समिट पूरा गर्ने लक्ष्यका साथ गत जुन २९ तारिखका दिन बिहान ९ बजे युरोपको सर्वोच्च शिखर रुसमा रहेको माउन्ट एलब्रस हिमाल पनि आरोहण गरेका थिए। उनले यस अगाडि सगरमाथा, मनास्लु, आमादब्लमलगायत नेपालका ६ वटा हिमालको सफल आरोहण गरिसकेका छन् । सात वटा महादेशका अग्ला हिमाल चढ्ने तयारी गरिरहेका पाण्डेले सबैभन्दा पहिला युरोपकै अग्लो हिमाल रुसको माउन्ट एल्ब्रसबाट आफूले अभियान सुरु गरेकोगरेको बताए । 

हाल पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको पनि सफल आरोहण गरेका छन् । उनी गत अक्टुबर २३ मा आरोहरणका लागि नेपालबाट त्यसतर्फ प्रस्थान गरेका थिए।रामेछाप लिखु तामाकोसी गाउँपालिका निवासी पाण्डेले सात वटै प्रदेशका उच्च हिमाल आरोहण गरेर विश्व रेकर्ड कायम गर्ने उद्देश्य लिएका छन्।

पुरा हेर्नुहोस्


गायक विष्णु डुम्रे र गायिका अस्मिताको स्वरमा“फरर डोरी” सार्वजनिक

काठमाण्डौ । नेपाली मौलिक लोक गीत संगीतमा सक्रिय गायक विष्णु डुम्रे र गायिका कल्पना काफलेको स्वरमा  “फरर डोरी” बोलको गीत सार्वजनिक गरेका छन् । मायाको डोरी आफनी मायालुलाई गास्नको लागी गीत मार्फत आग्रह गरिएको छ । जिवन भण्डारीको शब्द तथा विष्णु डुम्रे लय सिर्जना भने विष्णु डुम्रेले गरेका छन । मौलिक सिर्जनाको विकास एवम विस्तारका लागी भएपनी यस गीतले नेपाली संगीतको सागरमा केही भएपनी योग्दान दिने उहाँले बताउनुभयो ।

गीतको भिडियोमा लोमस शर्मा र  अस्मिता रनपालको आकर्षक अभिनय देख्न सकिन्छ । मौलिक स्वादमा तयार भएको गीतको भिडियोलाई कुमार केशीद्वारा निर्देशित भिडियोलाई अजय रेग्मीको छायांकन तथा अमृत चापागाईँको सम्पादन रहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/XBoLFDtqxEY?si=fCu5zXLmHFGY31yT" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" allowfullscreen></iframe>

पुरा हेर्नुहोस्



शिक्षा / स्वास्थ्य


अरु हेर्नुहोस्


लेख तथा रचना


अरु हेर्नुहोस्


अन्तराष्ट्रिय


  • ⇒ रामेछापका पाण्डेद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको सफल आरोहण
  • ⇒ विषाक्त ग्याँस लिक हुँदा १६ जनाको मृत्यु
  • ⇒ अमेरिकामा गोली चल्दा ४ जनाको मृत्यु
  • ⇒ महाराष्ट्रमा बसमा आगलागी हुँदा २५ जनाको मृत्यु
  • ⇒ ओडिसामा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु
  • अरु हेर्नुहोस्


    अन्य


  • ⇒ अन्तर प्रदेश राष्ट्रिय खेलकुद आइतबार देखि सुरुहुने
  • ⇒ सुष्मा र दीपक सर्वोत्कृष्ट खेलाडी
  • ⇒ ई स्पोर्ट्सकाे अध्यक्षमा धमला निर्विरोध निर्वाचित
  • ⇒ ६ घरेलु तरिका, जसले पेट सफा र हल्का बनाउँछ
  • ⇒ गायक विष्णु डुम्रे र गायिका अस्मिताको स्वरमा“फरर डोरी” सार्वजनिक
  • अरु हेर्नुहोस्