काठमाडौं । महिला उद्यमशीलता, सामाजिक रूपान्तरण, रोजगारी सिर्जना तथा आर्थिक सशक्तीकरणका क्षेत्रमा सक्रिय सामाजिक उद्यमी प्रकृति मैनाली उज्यालो नेपाल पार्टीमा प्रवेश गर्नुभएको छ। पार्टीले उहाँलाई केन्द्रीय महिला परिषद्को अध्यक्ष पदमा मनोनीत गरेको छ।
२०८३ साल कात्तिक १६ गते उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मैनालीलाई केन्द्रीय महिला परिषद्को अध्यक्ष पदमा मनोनीत गर्दै जिम्मेवारी सम्बन्धी आधिकारिक पत्र हस्तान्तरण गर्नुभएको हो।
विपन्न तथा सीमान्तकृत महिलाहरूको सीप विकास, उद्यमशीलता प्रवर्द्धन तथा आर्थिक आत्मनिर्भरताका क्षेत्रमा योगदान पुर्याउँदै आउनुभएकी मैनाली सामाजिक उद्यमशीलता, हरित अर्थतन्त्र र महिला नेतृत्व विकासका क्षेत्रमा सक्रिय हुनुहुन्छ।
नेपाल सरकारबाट सन् २०२० मा प्रदान गरिएको राष्ट्रिय युवा प्रतिभा पुरस्कार प्राप्त गर्नुभएकी मैनालीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न सम्मानसमेत प्राप्त गर्नुभएको छ।
महिला अधिकार, उद्यमशीलता, रोजगारी सिर्जना, आर्थिक आत्मनिर्भरता तथा राजनीतिक नेतृत्वमा महिलाको अर्थपूर्ण सहभागिताका क्षेत्रमा उहाँले हासिल गर्नुभएको अनुभवलाई पार्टीले संगठनात्मक तथा नीतिगत अभियानमा उपयोग गर्ने अपेक्षा गरेको छ।
उज्यालो नेपाल पार्टीले महिला नेतृत्व विकास, सामाजिक न्याय, आर्थिक सशक्तीकरण र समावेशी राजनीतिक सहभागितालाई प्राथमिकतामा राख्दै संगठन विस्तार गरिरहेको जनाएको छ।
मैनालीको पार्टी प्रवेश तथा केन्द्रीय महिला परिषद्को अध्यक्षको जिम्मेवारीले पार्टीको महिला संगठन विस्तार र महिला सहभागिता अभिवृद्धिको अभियानलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
पार्टी अध्यक्ष कुलमान घिसिङले मैनालीलाई नयाँ जिम्मेवारीका लागि बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ।