रामेछाप । सगरमाथा क्षेत्रको भ्रमणमा आउने पर्यटकको चाप बढेसँगै रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्ला हवाई उडानको सङ्ख्या बढ्न थालेको छ। शरद ऋतुको पर्यटकीय सिजन सुरु भएसँगै असोज १३ गतेदेखि मन्थली–लुक्ला उडान भइरहेको हो।
नागरिक उड्डयन कार्यालय, मन्थलीका प्रमुख अमित चौरसियाका अनुसार सिजनको सुरुवातमा उडान सङ्ख्या कम रहे पनि पछिल्ला दिनमा क्रमशः बढ्दै गएको छ। शनिबार मन्थलीबाट लुक्लाका लागि ९ वटा बढी उडान भएको उनले बताए।
सगरमाथा क्षेत्रको पदयात्रा तथा हिमाली पर्यटनमा आउने विदेशी पर्यटकलाई लक्षित गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले पर्यटकीय सिजनमा मन्थली विमानस्थललाई लुक्ला जाने प्रमुख हवाई प्रवेशद्वारका रूपमा प्रयोग गर्दै आएको छ।
शरद ऋतुमा असोजदेखि मङ्सिर १५ सम्म र वसन्त ऋतुमा चैतदेखि जेठसम्म मन्थली–लुक्ला उडान सञ्चालन हुने गरेको छ। उक्त रुटमा तारा, समिट र सीता एयरले सेवा दिँदै आएका छन्।
मन्थली विमानस्थलका अनुसार मौसम अनुकूल भई बिहानैदेखि उडान सञ्चालन हुन सके एकै दिन ६० वटाभन्दा बढी उडान हुने गरेका छन्। ती उडानमार्फत दैनिक करिब आठ सय ५० जनासम्म पर्यटक लुक्ला पुगेको नागरिक उड्डयन कार्यालय, मन्थलीको तथ्याङ्क छ । यो सिजनमा पूर्ण रूपमा सक्रिय हुँदै जाँदा गत वर्षको भन्दा उडानको चाप बढ्ने अपेक्षा गरिएको नागरिक उड्डयन कार्यालय मन्थलीका प्रमुख चौरसियाले बताए ।