विराटनगर । कोशी प्रदेश सरकार पुनर्गठन अन्तिम चरणमा पुगेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मंगलबार मन्त्रिपरिषद् विस्तार तथा हेरफेर गर्दैछन् ।
नयाँ मन्त्रीहरूको शपथ आजै साँझ ४ बजेका लागि तय गरिएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले बताए ।
नेकपा (एमाले) र नेपाली कांग्रेसबिच मन्त्री फेरबदल गर्ने सहमति जुटेसँगै १० जना मन्त्रीहरू फेरबदल हुन लागेका हुन् । सचेतक तामाङका अनुसार कांग्रेसले प्रदीप सुनुवारको नेतृत्वमा चार जना मन्त्री र एक जना राज्यमन्त्री पठाउने निर्णय गरेको छ ।
कांग्रेसबाट प्रदीप सुनुवार भौतिक पूर्वाधार, मानबहादुर लिम्बु स्वास्थ्य, इस्राइल मन्सुरी कृषि र भीम पराजुली पर्यटन तथा वन वातावरण मन्त्री बन्ने भएका छन्। त्यस्तै, शोभा चेम्जोङलाई भौतिक पूर्वाधार राज्यमन्त्री बनाइने भएको छ ।
यसैगरी एमालेले पनि मन्त्रीहरूको नाम र जिम्मेवारी टुङ्गो लगाएको छ । एमालेबाट विदुर लिङ्थेप आर्थिक मामिला तथा योजना मन्त्री, चिन्तन पाठकलाई खानेपानी, सिँचाइ तथा ऊर्जा, इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानुन र रामकुमार महतो सामाजिक विकास मन्त्री बन्ने भएका छन् ।
एमालेकै उमाकान्त गौतमलाई मुख्यमन्त्रीको कार्यालयमा राज्यमन्त्रीको जिम्मेवारी दिइने तयारी छ । सत्तारुढ दलहरूबिच भएको पछिल्लो सहमति अनुसार दुवै दलले दुईरदुई जना राज्यमन्त्री राख्ने समझदारी भएको छ ।
प्रदेश प्रमुखको कार्यालयले शपथ ग्रहणको औपचारिक जानकारी नआए पनि तयारी अवस्थामा आएको जनाएको छ ।