
काठमाडौं । चीनको हाङझाउमा हुने १९औं एसियाली खेलकुदको थप तयारी गर्न नेपाली कुस्ती टोली वैदेशिक प्रशिक्षणका लागि भारतको उत्तर प्रदेश जाने भएको छ ।
४ खेलाडीसहित ५ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले आइतबार बिदाइ गरे ।
भारत जान लागेका चारै खेलाडी १३ औं दक्षिण एसियाली खेलकुदका पदक विजेता हुन् । एसियाली खेलकुदमा पुरुषतर्फ सुरेश चुनारा (७४ केजी) र राज यादव (१ सय २५ केजी) तथा महिलातर्फ शिवाङगी दुवे (५७ केज) र सुशिला चन्द (६२ केजी) ले नेपालको प्रतिनिधित्व गर्नेछन् ।
१३ औं सागमा सुरेश र राजले कांस्य तथा बाँकी दुई खेलाडीले रजत जितेका थिए । टोलीको प्रशिक्षकमा मुमताज अली इद्रिसी छन् ।
टोली सोमबार काठमाडौंबाट नेपालगन्ज जाने छ । नेपालगन्जमा एक साताको प्रशिक्षणपछि टोली उत्तर प्रदेश जाने छ । उत्तर प्रदेशको नन्दनीनगरस्थित टाटा मोटर्स एकेडेमीमा भदौसम्म गर्ने प्रशिक्षण मुख्य प्रशिक्षक इद्रिसीले जानकारी गराए ।
खेलाडी सुरेशले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि वैदेशिक प्रशिक्षणमा जान पाउदा सबै खेलाडी उत्साहित भएको प्रतिकृया दिए ।