×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

खेलकुद

छैटौँ दीपावली कप भलिबल प्रतियोगिताको उपाधि आयोजक लङ्बु युवा समाजलाई

छैटौँ दीपावली कप भलिबल प्रतियोगिताको उपाधि आयोजक लङ्बु युवा समाजलाई

रसुवा । रसुवाको नौकुण्ड गाउँपालिका–१ स्थित लाङ्बु गुम्बाको खेलमैदानमा आयोजित जिल्ला स्तरीय खुला भलिबल प्रतियोगिता ‘छैटौँ दीपावली कप–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ। उज्यालो नेपाल पार्टी रसुवा र लङ्बु युवा समाजको संयुक्त आयोजनामा २०८३ कात्तिक १९ गतेदेखि सुरु भएको प्रतियोगिता कात्तिक २२ गते सम्पन्न भएको हो।

प्रतियोगिताको फाइनल खेलमा आयोजक लङ्बु युवा समाजले नौकुण्ड युवा समाजलाई लगातार तीन सेटमा पराजित गर्दै उपाधि जितेको छ। रसुवा जिल्लाभित्रका १३ टिमको सहभागिता रहेको प्रतियोगितामा ज्याङलाङ युवा समाज, कालिकास्थान तेस्रो भएको छ।

प्रतियोगितामा प्रथम हुने लङ्बु युवा समाजले नगद ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने द्वितीय हुने नौकुण्ड युवा समाजले नगद ३० हजार र तृतीय हुने ज्याङलाङ युवा समाज कालिकास्थानले नगद २० हजार रुपैयाँ प्राप्त गरेका छन्।

उज्यालो नेपाल पार्टीका युवा नेता एवं राष्ट्रिय उज्यालो युवा फ्रन्ट, नेपालका अध्यक्ष राजकुमार मैनालीको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा विजेता तथा उपविजेता टिमलाई ट्रफी, पुरस्कार तथा चेक हस्तान्तरण गरिएको थियो। फाइनल खेल अवलोकन गर्न करिब ७०० जना स्थानीयवासी तथा भलिबलप्रेमी दर्शकको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मैनालीले खेलकुद केवल मनोरञ्जन र प्रतिस्पर्धाको माध्यम मात्र नभई युवाको शारीरिक, मानसिक, सामाजिक तथा नेतृत्व विकासको महत्वपूर्ण आधार भएको बताए।

उनले भलिबल नेपालको लोकप्रिय र ग्रामीण भेगसम्म सहज पहुँच भएको खेल भएकाले यसको विकासका लागि राज्यले विशेष प्राथमिकता दिनुपर्ने धारणा राखे। खेलाडीको सर्वाङ्गीण विकासका लागि खेलकुद मन्त्रालयदेखि प्रदेश, जिल्ला र स्थानीय तहसम्म पर्याप्त बजेट विनियोजन गरी खेलमैदान निर्माण, खेल सामग्री उपलब्धता, नियमित प्रशिक्षण, दक्ष प्रशिक्षकको व्यवस्था तथा खेलाडीको स्वास्थ्य र सुरक्षामा ध्यान दिनुपर्ने उनको भनाइ थियो।

मैनालीले भने, “हाम्रा गाउँघरमा प्रशस्त खेल प्रतिभा छन्। तर आर्थिक अभाव, पूर्वाधारको कमी र अवसरको अभावका कारण धेरै प्रतिभा राष्ट्रिय स्तरसम्म पुग्न सकेका छैनन्। सरकारले खेलकुदलाई औपचारिकतामा सीमित नराखी शिक्षा, स्वास्थ्य र रोजगारीसँग जोडेर विकास गर्नुपर्छ।”

उनले भलिबलजस्ता सामूहिक खेलले युवामा अनुशासन, सहकार्य, एकता, नेतृत्व क्षमता र आपसी सद्भाव विकास गर्ने उल्लेख गर्दै स्थानीय स्तरमा नियमित प्रतियोगिता सञ्चालन गर्नुपर्ने बताए। खेलाडीलाई प्रोत्साहन, छात्रवृत्ति, खेल बिमा तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर सिर्जना गर्नु राज्यको दायित्व भएको उनको धारणा थियो।

सम्बोधनका क्रममा मैनालीले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ऊर्जा क्षेत्रको नेतृत्व र विकासमा पुर्‍याएको योगदानको चर्चा गर्दै चिलिमे जलविद्युत् आयोजनाले रसुवालाई ऊर्जा विकास र समृद्धिको यात्रासँग जोड्न महत्वपूर्ण भूमिका खेलेको बताए।

उनले जलविद्युत् आयोजना केवल विद्युत् उत्पादनमा सीमित नभई स्थानीय रोजगारी, पूर्वाधार विकास, आर्थिक गतिविधि र स्थानीय समुदायको समृद्धिसँग जोडिनुपर्ने बताए। रसुवाको जलविद्युत् सम्भावनालाई स्थानीय जनताको जीवनस्तर उकास्ने माध्यम बनाउनुपर्नेमा उनले जोड दिए।

भोटेकोशीमा आएको बाढीका कारण ज्यान गुमाउनुभएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मैनालीले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरे। बाढीबाट प्रभावित परिवार, विस्थापित नागरिक, व्यवसायी तथा स्थानीय समुदायको पीडाप्रति पार्टी गम्भीर रहेको उनको भनाइ थियो।

उनले गत भदौ १० गतेदेखि निरन्तर रूपमा उज्यालो नेपाल पार्टी जनतासँगै राहत, उद्धार तथा पुनर्निर्माणका कार्यमा जोडिँदै आएको उल्लेख गरे। विपद्का बेला राजनीतिक दलको वास्तविक भूमिका जनताको दुःखमा साथ दिनु, तत्काल राहत पुर्‍याउनु र दीर्घकालीन पुनर्निर्माणमा सहकार्य गर्नु भएको उनले बताए।

मैनालीले बाढी प्रभावित रसुवालाई पुनः उठाउन सुरक्षित बस्ती विकास, वातावरणमैत्री पूर्वाधार, नदी नियन्त्रण, जोखिम न्यूनीकरण, स्थानीय रोजगारी र दिगो आर्थिक विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

उनले उज्यालो नेपाल पार्टीले अघि सारेको ‘हरित क्रान्ति’ को अवधारणामार्फत रसुवालाई वातावरण संरक्षणसँगै आर्थिक समृद्धिको नमुना जिल्ला बनाउन सकिने धारणा राखे। प्राकृतिक स्रोतको दिगो उपयोग, जलविद्युत्, कृषि, पर्यटन, हरित उद्योग र स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै विपद् प्रतिरोधी विकासको बाटोमा अघि बढ्नुपर्ने उनको भनाइ थियो।

मैनालीले उज्यालो नेपाल पार्टीले सुशासन, समृद्धि र सामाजिक न्यायलाई आफ्नो राजनीतिक तथा विकासको मूल आधार बनाएको स्पष्ट पारे। पार्टीले अघि सारेको मध्यमार्गी विचारधाराले अतिवादभन्दा माथि उठेर तथ्य, विज्ञान, विवेक, जनताको आवश्यकता र राष्ट्रिय हितका आधारमा नीति निर्माण गर्नुपर्ने मान्यता राख्ने उनले बताए।

उनका अनुसार मध्यमार्गी बाटो भनेको पुराना राजनीतिक अभ्यासको अन्धअनुकरण वा नयाँ परिवर्तनको विरोध नभई राम्रा पक्षलाई आत्मसात् गर्दै समयअनुसार सुधार र रूपान्तरण गर्दै अघि बढ्नु हो।

उनले भ्रष्टाचारमुक्त प्रशासन, पारदर्शी शासन व्यवस्था, उत्पादनमुखी अर्थतन्त्र, गुणस्तरीय शिक्षा र स्वास्थ्य, युवाका लागि स्वदेशमै रोजगारी, महिला सशक्तीकरण, जातीय विभेदको अन्त्य तथा सबै वर्ग, समुदाय र क्षेत्रको समान अवसर सुनिश्चित गर्नु पार्टीको प्राथमिकता रहेको बताए।

“विकसित नेपालको निर्माणको आधार हरित क्रान्ति हो। प्राकृतिक स्रोतको संरक्षण गर्दै उत्पादन, रोजगारी र आर्थिक समृद्धि हासिल गर्न सकिन्छ। राजनीति सत्ता प्राप्तिको माध्यम मात्र नभई जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने साधन बन्नुपर्छ,” मैनालीले भने।

उनले आगामी स्थानीय तह र प्रदेश निर्वाचनमा उज्यालो नेपाल पार्टीका नीति, विचार र विकासको योजनालाई मूल्याङ्कन गरी पार्टीको पक्षमा मतदान गर्न आम नागरिकलाई आग्रह गरे। रसुवाको पुनर्निर्माण, विकास र समृद्धिका लागि जनताको साथ र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रमको अवसरमा प्रमुख अतिथि मैनालीले नेपालीहरूको महान् पर्व शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे।

प्रतियोगिताले रसुवाका युवाबीच आपसी सद्भाव, एकता, भाइचारा र खेल संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको विश्वास छ। ग्रामीण क्षेत्रमा खेलकुद गतिविधिलाई निरन्तरता दिँदै स्थानीय प्रतिभालाई पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

समग्रमा छैटौँ दीपावली कपले खेलकुद प्रतिस्पर्धासँगै युवा परिचालन, सामाजिक एकता, स्थानीय प्रतिभाको सम्मान र रसुवाको पुनर्निर्माण तथा समृद्धिको बहसलाई समेत जोडेको छ।

प्रतिकृया दिनुहोस्