रसुवा। लङ्बु युवा समाजको आयोजनामा तथा उज्यालो नेपाल पार्टी रसुवाको समन्वय र सहकार्यमा सञ्चालन भइरहेको प्रथम रसुवा जिल्ला स्तरीय भलिबल प्रतियोगिताको फाइनल खेल सुरु भएको छ।
रसुवाको नौकुण्ड गाउँपालिका–१, लङ्बुमा सयौँ खेलप्रेमी दर्शकको उपस्थितिमा सुरु भएको फाइनल खेलमा नौकुण्ड युवा समाज र आयोजक लङ्बु युवा समाज उपाधिका लागि आमनेसामने भएका छन्।

फाइनल खेलमा उज्यालो नेपाल पार्टीका युवा नेता एवं राष्ट्रिय उज्यालो युवा फ्रन्ट, नेपालका अध्यक्ष राज कुमार मैनालीको प्रमुख आतिथ्यता रहेको छ। त्यसैगरी उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य एवं समाजसेवी मानबहादुर तामाङको विशेष आतिथ्यता रहेको छ।
स्थानीय युवाहरूको सक्रिय सहभागितामा आयोजना गरिएको प्रतियोगिताले जिल्लामा खेलकुदको विकास, युवा प्रतिभाको पहिचान तथा सामाजिक एकता र सद्भाव अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

खेलकुद युवाको शारीरिक तथा मानसिक विकाससँगै अनुशासन, सहकार्य र नेतृत्व क्षमता अभिवृद्धि गर्ने महत्वपूर्ण माध्यम भएकाले यस्ता प्रतियोगितालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिइएको छ।
जिल्लास्तरीय प्रतियोगिताको फाइनलमा दुई बलिया टोलीबीचको प्रतिस्पर्धा हेर्न सयौँ दर्शकको उपस्थिति रहेको छ। प्रतियोगिताले रसुवाको खेलकुद क्षेत्रलाई थप उत्साहित बनाएको छ।