रामेछाप । नेपालीहरूको महान् चाड बडादसैँ, शुभ दीपावली तथा छठ पर्वको अवसर पारेर रामेछापको खाँडादेवी गाउँपालिका–७ मा ‘उज्यालो सडक सरसफाइ तथा स्वच्छता अभियान’ सञ्चालन गरिएको छ।
उज्यालो नेपाल पार्टी खाँडादेवी गाउँपालिका–७ वडा कमिटीको पहलमा सुरु गरिएको अभियानअन्तर्गत वडा क्षेत्रका सडक तथा सार्वजनिक स्थानमा सरसफाइ गर्ने कार्यक्रम अघि बढाइएको हो।
अभियान २०८३ असोज २१ गतेदेखि सुरु गरिएको आयोजकले जनाएको छ। अभियानको नेतृत्व उज्यालो नेपाल पार्टी रामेछापका जिल्ला सचिव मोतिलाल घिसिङले गर्नुभएको छ। स्थानीय स्तरमा सडक तथा सार्वजनिक स्थानको सरसफाइसँगै चाडपर्वका बेला गाउँबस्तीलाई स्वच्छ र व्यवस्थित बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताइएको छ।
अभियानमा सडक सरसफाइका लागि आवश्यक निर्माण तथा सरसफाइ उपकरणको समेत प्रयोग गरिएको छ। आयोजकका अनुसार अभियानलाई स्थानीय समुदायको सहभागितासँग जोड्दै स्वच्छता र वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ। उज्यालो नेपाल पार्टीका युवा नेता राज मैनालीले अभियानबारे जानकारी दिँदै चाडपर्वलाई स्वच्छ, सुरक्षित र व्यवस्थित वातावरणमा मनाउन स्थानीय तहमा सरसफाइ अभियान सञ्चालन गरिएको बताउनुभयो।
उहाँले भन्नुभयो, “चाडपर्व केवल उत्सव मनाउने अवसर मात्र होइन, आफ्नो गाउँ–समाजलाई स्वच्छ, व्यवस्थित र जिम्मेवार बनाउने अवसर पनि हो। यही उद्देश्यले स्थानीय स्तरमा अभियान सञ्चालन गरिएको हो।” अभियानमा जय माता खाँडादेवी कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रा.लि. तथा “लटेस्टरी कन्स्ट्रक्सन प्रा.लि.”को सौजन्य रहेको आयोजकले जनाएको छ। उज्यालो नेपाल पार्टी खाँडादेवी गाउँपालिका–७ कमिटीले अभियानलाई निरन्तरता दिँदै स्थानीय बासिन्दालाई सरसफाइ तथा स्वच्छता अभियानमा सहभागी हुन आग्रह गरेको छ।