काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका तीन जना नेता उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन्।
उज्यालो नेपाल पार्टीमा प्रवेश गर्नेहरूमा जनमत पार्टीका सचिवालय सदस्य रामबाबु साह, राष्ट्रिय परिषद्का उपाध्यक्ष हसन्जान मियाँ र केन्द्रीय सदस्य जाकिर मियाँ अन्सारी रहेका छन्।
पार्टी प्रवेशसँगै रामबाबु साह र हसन्जान मियाँलाई उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ। पार्टीका अध्यक्ष कुलमान घिसिङले दुवैलाई केन्द्रीय सदस्यको मनोनयनपत्र तथा पार्टी परिचयपत्र हस्तान्तरण गर्नुभएको हो।
काठमाडौंमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष घिसिङले तीनै जना नवप्रवेशी नेतालाई खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो। उहाँले नवप्रवेशी नेताहरूलाई सफल राजनीतिक यात्राको शुभकामना दिँदै पार्टीको नीति, विचार र उद्देश्यलाई जनतामाझ स्थापित गर्न सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।
मधेश प्रदेशमा संगठनात्मक प्रभाव रहेको जनमत पार्टीका महत्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरूले पार्टी परित्याग गरी उज्यालो नेपाल पार्टी रोज्नुलाई मधेश प्रदेशमा उज्यालो नेपाल पार्टीको संगठन विस्तारका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ।
सुशासन, समृद्धि र सामाजिक न्यायलाई आफ्नो मूल लक्ष्य बनाउँदै अघि बढिरहेको उज्यालो नेपाल पार्टीले संगठन विस्तार तथा राजनीतिक अभियानलाई तीव्रता दिइरहेको छ। विभिन्न राजनीतिक दलमा आबद्ध अनुभवी नेता तथा कार्यकर्ताहरू पार्टीमा जोडिन थालेसँगै पार्टीको राजनीतिक आधार विस्तार हुने अपेक्षा गरिएको छ।
उज्यालो नेपाल पार्टीले आगामी दिनमा मधेश प्रदेशसहित देशभर संगठन सुदृढीकरण र जनमुखी राजनीतिक अभियानलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ।