रामेछाप । उज्यालो नेपाल पार्टीले रामेछापको लिखु तामाकोशी गाउँपालिकामा संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ। यसैक्रममा पार्टीको लिखु तामाकोशी गाउँपालिका कमिटीको आयोजनामा गाउँपालिका वडा नं. ५ मा वडा कमिटी गठन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
आज आयोजित विशेष भेलाले इन्द्रबहादुर तामाङको अध्यक्षतामा २२ सदस्यीय नयाँ वडा कमिटी गठन गरेको हो।
उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य लालबहादुर थापामगरको प्रमुख आतिथ्यता तथा लिखु तामाकोशी गाउँपालिका कमिटीका अध्यक्ष प्रितमलाल तामाङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापामगर र सभापति प्रितमलाल तामाङले नवगठित वडा कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै स्थानीय तहमा पार्टी संगठन विस्तार, जनतासँगको सम्बन्ध सुदृढीकरण र जनसेवाका गतिविधिमा सक्रिय भएर लाग्न आग्रह गर्नुभयो।
भेलामा उपस्थित विभिन्न व्यक्तित्वहरूले पार्टीको संगठन निर्माण, भावी कार्यदिशा, स्थानीय समस्या तथा जनताका अपेक्षाका विषयमा आ–आफ्ना धारणा, सुझाव र रचनात्मक विचार प्रस्तुत गर्नुभएको थियो। सहभागीहरूले संगठनलाई प्रभावकारी बनाउन सामूहिक नेतृत्व, जिम्मेवारीबोध, पारदर्शिता र जनतासँग प्रत्यक्ष जोडिने राजनीतिक गतिविधिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको थियो।
नवगठित वडा कमिटीले स्थानीय जनताको आवाजलाई सम्बोधन गर्दै संगठन विस्तार, जनसम्पर्क र सामाजिक गतिविधिलाई अघि बढाउने अपेक्षा गरिएको छ।
सुशासन, समृद्धि र सामाजिक न्यायलाई मूल राजनीतिक लक्ष्य बनाएको उज्यालो नेपाल पार्टीले रामेछापका विभिन्न स्थानीय तह तथा वडाहरूमा संगठन विस्तार र कमिटी गठन अभियानलाई निरन्तरता दिँदै आएको छ।