हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका दुई वडाध्यक्षले उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री कुलमान घिसिङसँग काठमाडौंमा भेटवार्ता गरेका छन्।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष पेम्बा लामा र वडा नम्बर १४ का वडाध्यक्ष दीपक खड्काले अध्यक्ष घिसिङसँग भेट गरेका हुन्।
भेटपछि सार्वजनिक गरिएको तस्बिरसहित वडाध्यक्ष खड्काले सामाजिक सञ्जालमा घिसिङको प्रशंसा गर्दै ‘इमान्दारिता, कर्म र राष्ट्रसेवाको अर्को नाम–कुलमान घिसिङ’ भन्ने अभिव्यक्ति सार्वजनिक गरेका छन्।
पछिल्लो राजनीतिक परिस्थितिमा देशलाई नयाँ सोच, नेतृत्व र कार्यशैलीसहितको वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता रहेको उनीहरूको बुझाइ रहेको बताइएको छ। सोही सन्दर्भमा उज्यालो नेपाल पार्टीलाई आगामी दिनमा वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित हुन सक्ने पार्टीका रूपमा हेर्न थालिएको उनीहरूको धारणा रहेको बुझिएको छ।
विशेषगरी कुलमान घिसिङको कार्यशैली, इमान्दारिता र राष्ट्रसेवाप्रतिको प्रतिबद्धताको प्रशंसा गर्दै उनीहरूले आफ्नो धारणा सार्वजनिक गरेका छन्।
यसअघि फरक राजनीतिक दलमा आबद्ध रहेका दुई वडाध्यक्षले उज्यालो नेपाल पार्टीका अध्यक्षसँग गरेको भेटलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। यद्यपि, उक्त भेट सामान्य शिष्टाचार भेट हो वा आगामी राजनीतिक सहकार्यको संकेत हो भन्ने विषयमा उनीहरूले औपचारिक धारणा सार्वजनिक गरिसकेका छैनन्।
उज्यालो नेपाल पार्टीसँगको भेटपछि हेटौंडाका दुई वडाध्यक्षको अभिव्यक्ति र राजनीतिक दृष्टिकोणले स्थानीय राजनीतिक वृत्तमा थप चासो सिर्जना गरेको छ।