काठमाडौं । उज्यालो नेपाल पार्टीले विभिन्न क्षेत्रका अनुभवी तथा सामाजिक क्षेत्रमा सक्रिय तीन जना व्यक्तित्वलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।
पार्टीले इन्जिनियर मंगलाल श्रेष्ठ, सामाजिक अभियन्ता मानबहादुर तामाङ र शैक्षिक अभियन्ता झनकबहादुर अधिकारीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो।
नवनियुक्त केन्द्रीय सदस्यहरूलाई पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री कुलमान घिसिङले स्वागत गर्दै केन्द्रीय सदस्य पदको मनोनयनपत्र हस्तान्तरण गरी औपचारिक रूपमा जिम्मेवारी प्रदान गर्नुभएको छ। सो अवसरमा अध्यक्ष घिसिङले तीनै जनालाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो।
विभिन्न क्षेत्रको अनुभव, दक्षता र सामाजिक योगदान भएका व्यक्तित्वहरूलाई पार्टीको केन्द्रीय नेतृत्वमा समेट्ने उद्देश्यले मनोनयन गरिएको पार्टीले जनाएको छ।
नयाँ नेतृत्वको सहभागिताले पार्टीको संगठन विस्तार, सुदृढीकरण तथा आगामी राजनीतिक कार्यदिशालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।