×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

खिम्ती–ठोसे जलविद्युत् आयोजना अघि बढाउने र स्थानीयलाई १० प्रतिशत सेयर दिलाउन पहल गर्ने कुलमानको प्रतिबद्धता

खिम्ती–ठोसे जलविद्युत् आयोजना अघि बढाउने र स्थानीयलाई १० प्रतिशत सेयर दिलाउन पहल गर्ने कुलमानको प्रतिबद्धता

रामेछाप — उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रस्तावित खिम्ती–ठोसे जलाशययुक्त जलविद्युत् आयोजना कार्यान्वयनमा लैजान तथा खिम्ती जलविद्युत् आयोजनासहित निजी क्षेत्रका अन्य जलविद्युत् आयोजनाहरूमा स्थानीय जनतालाई १० प्रतिशत सेयर उपलब्ध गराउन आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

रामेछापको ठोसेमा आज आयोजित स्थानीयवासीसँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष घिसिङले जलविद्युत् आयोजनाबाट प्रभावित तथा आसपासका स्थानीय समुदायले प्रत्यक्ष आर्थिक लाभ प्राप्त गर्नुपर्नेमा जोड दिनुभएको हो। आफ्नो जन्मथलो आसपासका तीन स्थानमा स्थानीय बुद्धिजीवी, ज्येष्ठ नागरिक, समाजसेवी, अग्रज व्यक्तित्व तथा सर्वसाधारणसँग भेटघाट तथा अन्तरक्रिया गर्दै ठोसे पुग्नुभएका अध्यक्ष घिसिङलाई स्थानीयवासीले आत्मीय स्वागत गरेका थिए।

भेटघाटका क्रममा स्थानीय विकास, जलविद्युत् आयोजना, पार्टीको नीति तथा उद्देश्य र संगठन विस्तारका विषयमा समेत छलफल भएको थियो। एक हजार मेगावाटभन्दा बढी क्षमताको खिम्ती–ठोसे आयोजना अघि बढाउने प्रतिबद्धता कार्यक्रममा स्थानीयवासीले प्रस्तावित एक हजार मेगावाटभन्दा बढी क्षमताको खिम्ती–ठोसे जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण तथा कार्यान्वयन प्रक्रियाबारे चासो व्यक्त गरेका थिए। स्थानीयवासीको जिज्ञासालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले आयोजनाको प्रारम्भिक पहल आफूले नै गरेको उल्लेख गर्दै यसको निर्माण प्रक्रिया अघि बढाउन उज्यालो नेपाल पार्टी प्रतिबद्ध रहेको बताउनुभयो।

उहाँले जलाशययुक्त जलविद्युत् आयोजना नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, विद्युत् प्रणालीको विश्वसनीयता, औद्योगिक विकास तथा आर्थिक समृद्धिका लागि महत्त्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो। आयोजना कार्यान्वयनमा आएमा राष्ट्रिय ऊर्जा उत्पादनमा योगदान पुग्नुका साथै रामेछापलगायत आसपासका क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

खिम्ती जलविद्युत् आयोजनाको १० प्रतिशत सेयर स्थानीयलाई उपलब्ध गराउन पहल अन्तरक्रियाका क्रममा स्थानीयवासीले ६० मेगावाट क्षमताको खिम्ती जलविद्युत् आयोजनाको स्वामित्व संरचनामा परिवर्तन हुने सन्दर्भ उठाउँदै नेपाल सरकारमा ५० प्रतिशत स्वामित्व हस्तान्तरण हुने प्रक्रियासँगै आयोजनाको १० प्रतिशत सेयर रामेछाप र दोलखाका स्थानीयवासीलाई उपलब्ध गराउन पहल गरिदिन अध्यक्ष घिसिङसँग माग गरेका थिए।

स्थानीयवासीको मागलाई सकारात्मक रूपमा लिँदै अध्यक्ष घिसिङले खिम्ती जलविद्युत् आयोजनाको १० प्रतिशत सेयर स्थानीय जनतालाई उपलब्ध गराउने विषयमा नेपाल सरकार तथा सम्बन्धित आयोजना व्यवस्थापनसँग आवश्यक समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसैगरी, लिखु, खिम्ती र तामाकोसी करिडोरमा निजी क्षेत्रबाट निर्माण सम्पन्न भएका, सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजनाहरूमा समेत स्थानीयवासीलाई १० प्रतिशत सेयर उपलब्ध गराउने व्यवस्था मिलाउन आवश्यक पहल गर्ने उहाँले बताउनुभयो।

जलविद्युत् विकासको प्रतिफल स्थानीय जनतासम्म पुर्‍याउनुपर्नेमा जोड अध्यक्ष घिसिङले जलविद्युत् आयोजना निर्माण र सञ्चालनबाट स्थानीय नागरिकले रोजगारी, पूर्वाधार विकास, व्यवसाय विस्तार तथा आयोजनाको स्वामित्वमा सहभागितामार्फत प्रत्यक्ष लाभ प्राप्त गर्नुपर्ने बताउनुभयो। स्थानीय जनताको लगानी र स्वामित्वमा सहभागिता बढाउन सके आयोजना र समुदायबीचको सम्बन्ध थप सुदृढ हुने तथा जलविद्युत् विकासबाट प्राप्त हुने आर्थिक प्रतिफल स्थानीय तहसम्म पुग्ने उहाँको भनाइ थियो।

रामेछाप र आसपासका जिल्लामा जलविद्युत् विकासको ठूलो सम्भावना रहेकाले त्यसको लाभ स्थानीय नागरिकले समेत पाउने वातावरण निर्माण गर्नुपर्नेमा अन्तरक्रियामा जोड दिइएको थियो। स्थानीयवासीको माग, जलविद्युत् आयोजनाको कार्यान्वयन र स्थानीय जनताको आर्थिक सहभागितालाई प्राथमिकतामा राख्दै अध्यक्ष घिसिङले व्यक्त गर्नुभएको प्रतिबद्धतालाई स्थानीयस्तरमा महत्त्वपूर्ण रूपमा हेरिएको छ।

प्रतिकृया दिनुहोस्